त्रिविमा भइरहेको तालाबन्दी र हुलहुज्जतप्रति निर्मम् विश्लेषण गर्न प्राध्यापक संघको आग्रह

लामो समयदेखि त्रिभुवन विश्वविद्यालयका केन्द्रीय कार्यालयहरूमा भइरहेको तालाबन्दी र हुलहुज्जतका सन्दर्भमा त्रिवि प्राध्यापक संघले एक विज्ञप्ति प्रकाशन गरी उक्त कार्यको निन्दा गरेको छ । संघका सभापति वसन्त ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल सरकार, त्रिवि प्रशासन, प्राध्यापक, विद्यार्थी, कर्मचारी, नागरिक समाजलगायत सम्पूर्ण सरोकारवालाहरुलाई गम्भीर भई विश्वविद्यालयको सर्वोपरी हितका विषयमा निर्मम् विश्लेषण गरी ठोस निर्णय गर्न ढिलो भैसकेको ठहर गरेको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ– त्रिभुवन विश्वविधालय नेपालको शैक्षिक एवं प्राज्ञिक उन्नयनमा गरिमामय इतिहास बोकेको र मुलुकको ८० प्रतिशतभन्दा बढी विधार्थी पठनपाठन गर्ने आम जनताको पहुँचमा रहेको सबभन्दा जेठो र ठूलो विश्वविद्यालय हो । विगत केही समयदेखि त्रिभुवन विश्वविद्यालयमा विभिन्न माग राखी भएको तालाबन्दी र यसै विषयलाई लिएर भैरहेको शृङ्खलावद्ध झडप, धरपकड, मुठभेड, हुलहुज्जत, असुरक्षा र अशान्त वातावरणका कारण आम प्राध्यापक र कर्मचारीहरु मर्माहत भएका छन्, जसका कारण पहुँचविहीन आम प्राध्यापक र कर्मचारी वर्गको तलव निकासा, अवकासपछिको पेन्सन पट्टा, सोध कार्यको मुल्याकङ्न, पुनरावेदनको छिनोफानोलगायत विभिन्न क्याम्पसहरूको बजेट निकासा आदि जस्ता दैनिक तथा नियमित अत्यावश्यक कामहरू ठप्प हुन पुगी अप्ठेरो परिस्थितिको श्रृजना भएकोमा यस संघ दुःख प्रकट गर्दछ ।



हरेक जायज मागको सुनुवाई वार्ता र संवादको माध्यमबाट गरिनु पर्ने र त्यस सम्बन्धी वातावरण निर्माण गर्ने दायित्व स्वयम् विश्वविद्यालय प्रशासनको हुँदाहुँदै सो हुन नसकी शैक्षिक ,प्राज्ञिक एवम् प्रशासनिक वातावरण धुमिल हुन पुगेको प्रति यस संघ खेद प्रकट गर्दछ । अतः कुनै पनि बाहनामा विश्वविद्यालय जस्तो विशुद्ध प्राज्ञिक थलोमा अस्थिरता निम्तिन नहुने र यसका लागि नेपाल सरकार र दैनिक प्रशासनको बागडोर सम्हालेको विश्वविद्यालयको प्रशासनिक नेतृत्व, प्राध्यापक, विद्यार्थी, कर्मचारी, नागरिक समाजलगायत सम्पूर्ण सरोकारवालाहरु गम्भीर भई विश्वविद्यालयको सर्वोपरी हित, मान्यता, विशिष्टता र विकासलाई केन्द्रमा राखी यस सम्बन्घी विषयमा निर्मम् विश्लेषण गर्न ढिलो भैसकेको ठहर यस संघको रहेको छ ।

आफ्ना मागहरू राख्ने र चित्त नबुझेको कुरामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने अधिकार जुनसुकै सरोकारवाला संघ र संगठनको संविधानप्रदत्त मौलिक हक भएको प्रति यस संघ सदैव सम्मान प्रकट गर्दछ । साथसाथै हरेक समस्याको समाधान निरन्तर वार्ता, संवाद, सहमति र सहकार्यबाट पहिल्याउन सकिन्छ भन्ने विश्वव्यापी मान्यतामा विश्वास गर्ने यो संघ विश्वविद्यालय प्रशासन र आन्दोलनरत पक्ष सहित सबै सरोकारवाला पक्षहरूलाई गम्भीर भई विश्वविद्यालयको साझा सर्वोपरी हितमा जिम्मेवार ढङ्गले प्रतुस्त हुन आह्वान गर्दछ ।

त्यसैगरी पछिल्लो समयमा परीक्षाकार्य संचालन सम्बन्धी त्रुटी एवं लापरवाही देखिएकोमा स्वतन्त्र जाँचबुझ समिति गठन गरी परीक्षा सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता, संवेदनशीलता, गम्भीरता, गोपनीयता र पारदर्शितालाई ख्याल राखी सत्य तथ्य सार्वजनिक गरी कामकारबाही अघि बढाउन र भविष्यमा त्यस्ता घटना पुनः दोहोरिन नदिन त्रिभुवन विश्वविद्यालय प्रशासनिक नेतृत्व समक्ष यस संघ जोडदार माग गर्दछ ।

विज्ञप्ति –

विज्ञप्ति -

सम्बन्धित समाचार