नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ भदौ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरासँग प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले बयान लिँदै छ । आज (बुधबार) बिहान ११ बजे बस्ने समितिको बैठकले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन लागेको हो ।
गत फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता भएको थियो । महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो ।
महाअभियोग सिफारिस समितिमा नेपाली काँग्रेसबाट मिनबहादुर विक, रामबहादुर विष्ट, नेकपा माओवादी केन्द्रबाट यसोदा सुवेदी, रेखा शर्मा, नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ, जनता समाजवादी पार्टीबाट प्रमोद साह र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल रहेका छन् ।
नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागिएकाे हो । यसअघि भदौ ७ गते बसेको समितिको बैठकले जबरालाई बयानका लागि बोलाउने निणर्य गरेको थियो ।