नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ भदौ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै भागेका ठगी आरोपका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो ठगी मुद्दाका आरोपी सुनसरीका ३० वर्षीय रिजवान आलम विमानस्थलको भीआईपी कक्षबाटै भागेका थिए ।
आलमलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नक्सालस्थित मेरियट होटेलबाट पक्राउ गरेको हो । यूएईबाट फ्लाई दुबईको विमानबाट शुक्रबार बिहान विमानस्थलमा अवतरण गरेका आलमको पासपोर्ट चेकगर्दा कालोसूचीमा रहेको खुलेपछि अध्यागमनले प्रहरीलाई खबर गरेको थियो ।
सुरक्षाकर्मीले नियन्त्रण लिन नपाउँदै भीआईपी कक्षको ढोकाबाटै भागेर उनी सम्पर्कविहीन भएका थिए । उनी विमानस्थलबाट बाहिरिसकेकेा सूचना पाएपछि आलमको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली परिचालित भएको थियो । नक्सालस्थित होटल मेरियटबाट उनलाई प्रहरीले पक्राउ गरेर प्रहरी वृत गौशालाको हिरासतमा राखेको छ । आलम पनि ५ जना दुबईका डेलिगेट्ससँगै दुबईबाट काठमाडौं आएका थिए ।
दुबईबाट आएका डेलिगेट्सलाई लिन मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी भीआईपी कक्ष गएका थिए । अन्सारीले शुक्रबार दुबईबाट आउने ५ जना डेलिगेट्सका लागि भीआईपी कक्ष प्रयोग गर्न गृह मन्त्रालयबाट अनुमति लिएका थिए । आलमविरुद्ध १ करोड ६८ लाख रुपैयाँ ठगी गरेको आरोप छ । आलमसहित ११ जनाविरुद्ध दाउद हुसेनले गत कात्तिकमा जाहेरी दिएका थिए । जिल्ला अदालत, काठमाडौंले उनीहरुलाई पक्राउ गर्न भन्दै २७ फागुन २०७८ मा पक्राउ पूर्जी जारी गरेको थियो ।