नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ भदौ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले रञ्जन कोइरालाको मुद्दा फैसलाको विषयमा बोलेका छन् । आज (आइतबार) जबराले महाअभियोग समितिलाई बयान दिने क्रममा सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको भन्दै प्रायश्चित्त गरेको बताएका हुन् ।
जबराले श्रीमतीको निर्ममतापूर्वक हत्या गरेको अभियोग लागेका कोइरालालाई तोकिएको २० वर्ष सजायमा ८ वर्षमा झारेका थिए । उनले परिवारको प्रभावमा परेर गल्ती गरेको बताउँदै उक्त मुद्दामा आफूलाई पछुतो भएको समेत बताएका छन् । जबराले न्यायधीशलाई विवेक प्रयोग गर्ने अधिकार भएकाले त्यसलाई प्रयोग गरेको बताए ।
त्यस्तै जबराले कोइरालाको मुद्दाका कारणले महाअभियोग लाग्ने हो भने आफ्नो भन्नु केही नभएको बताएका छन् । उक्त विषयमा न्यायाधीशले गल्ती गरेको भन्दै जबराले समितिसामू माफी मागेको समिति सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले जानकारी दिए । ‘रञ्जनको परिवारको बयान सुनेपछि त्यसबाट प्रभावित भएर कैद घटाउने निर्णय गरेको हो । न्यायधीशलाई विवेक प्रयोग गर्न दिने ठाउँ हुने भएकोले मैले विवेक प्रयोग गरें। जबराले यो विषयमा गल्ती गरेको जस्तो महसुस गर्नुभयो’ सांसद विश्वकर्माले भने।
महाअभियोग समितिले आज जबरासँग पाँच वटा प्रश्न सोधेका थिए । जबराले ४३ मध्ये ११ वटा प्रश्नको जवाफ दिएका छन् । महाअभियोग सिफारिस समितिको अर्को बैठक आगामी २६ गते बस्नेगरि स्थगित भएको छ ।