शेखरले कांग्रेसले १०० सिट नपाए विद्रोह हुन्छ भनेपछि…

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले १०० सिट नपाए पार्टीभित्र विद्रोह सुरु हुने बताएका छ । बिहीबार जनकपुराधाममा नेपाल प्रेस युनियनको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कोइरालाले बहुमत ल्याउन पनि कांग्रेसले १०० सिट लिनुपर्ने बताएका छन् । उनले भने ‘बहुमत बनाउन त कम्तीमा पनि १०० सिट त लिनुपर्‍यो । नत्र बहुमत कहाँबाट बन्छ ?, तर १०० सिट दिने पक्षमा गठबन्धनका अरू दल छैनन् । १०० भन्दा कम सिट लिँदा त विद्रोह हुन सक्छ।’



कोइरालाले गठबन्धनका अन्य दललाई सिट छाड्दा कांग्रेसको समानुपातिक निर्वाचन पद्धतितर्फको मत पनि घट्ने भन्दै सरकार बनाउन मात्र गठबन्धन गरिए त्यसले दीर्घकालमा सबैलाई समस्या पार्ने बताए । त्यस्तै उनले एमालेलाई पराजित गर्न र भोलि सरकार बनाउनका लागि गठबन्धन गरेको दाबी गरे । यस्तै उनले अहिले नेपाली कांग्रेस अप्ठेरो अवस्थामा रहेको भन्दै कांग्रेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारे ।

नेता कोइरालाले पाँचदलीय गठबन्धन बिचित्रको रहेको, विचार र सिद्धान्त नमिल्ने दलहरुसँग गठबन्धन भएको भन्दै गठबन्धनका कारण अहिले नेपाली कांग्रेस अप्ठ्यारो अवस्थामा रहेको बताए । एमालेले संविधानलाई प्रहार गरेपछि त्यसलाई बचाउन गठबन्धन गरिएको उनले स्पष्ट गरे । कोइरालाले भने, ‘यो गठबन्धन पवित्र हो कि अपवित्र त्यो निर्वाचनपछि मात्र थाहा हुन्छ ।’ कांग्रेसमा उम्मेदवारका आकाङ्क्षी नेताको व्यवस्थापन गर्न पनि कांग्रेस पार्टीलाई प्रत्यक्षतर्फ मात्र एक सय सिट आवश्यक पर्ने उनको तर्क थियो ।

सम्बन्धित समाचार