प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ भनेपछि…

नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका छन् । आज (शुक्रबार) पोखरा विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले यस्तो बताएका हुन् ।

नागरिकता विधेयक दोस्रो पटक दुवै सदनबाट पारित भएर गइसकेपछि पनि राष्ट्रपतिले प्रमाणीकरण नगरे यो विषय अदालत जाने वा राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताए । त्यस्तै उनले राष्ट्रपतिले प्रमाणीकरण नगर्ने सम्भावना पनि रहेको स्पष्ट पारे । प्रचण्डले राष्ट्रपतिले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन लागेको आरोप लगाएका छन् ।



‘राष्ट्रपतिलाई यताउता गर्ने अधिकार छैन। त्यसकारण हामी आशा गर्छौं यो पटक राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुनेछ।’ अध्यक्ष दाहालले भने, ‘राष्ट्रपतिले दोस्रो पटक प्रमाणीकरण नगर्ने हो भने दुईवटा सम्भावना छ । पहिलो, यो विषय अदालतमा जान्छ। दोस्रो, राष्ट्रपतिले राजीनामा दिनुपर्ने स्थिति आउन सक्छ ।’ राष्ट्रपतिसँगको यसअघिको भेटमा उनले यस विषयलाई ठूलै राजनीतिक मुद्दा बनाउने जस्तो देखेको आफूले महशुश गरेको बताए ।

यस्तै अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड ले सत्ता गठबन्धनका दलहरु आसन्न प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटको नजिक पुगेको बताएका छन् । उनले आज बस्ने बैठकले सिट बाँडफाँटको टुंगो लगाउने दाबी समेत गरे ।

सम्बन्धित समाचार