नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ भदौ ।
नेपालको भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु र नेकपा (एमाले)का अध्यक्ष एवं केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (मंगलबार) सङघीय संसद् भवन नयाँ बानेश्वरमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ । भेटमा नेकपा एमालेका तर्फबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागी छ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष चान्शु सोमबार काठमाडौँ आइपुगेका हुन् ।
त्यस्तै अध्यक्ष लीले आज प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि भेटवार्ता गर्नेछन् । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले बुधबार शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।