नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ भदौ ।
पछिल्लो चौबीस घण्टामा नेपालमा २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ५ हजार ५९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ३०० जनाको पीसीआर परीक्षण गर्दा ८७ जना र ३ हजार ७५९ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार १५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १२६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८४ हजार ७१० जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या दुई हजार २३२ रहेको छ । जसमध्ये २ हजार १५२ जना होम आइसोलेसनमा छन् भने ८० जना संस्थागत आइसोलेसनमा १७ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९८ हजार ९५७ र एन्टिजेन विधिबाट १ लाख ५१ हजार ५९७ जना पुगेको छ ।