नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ भदौ ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ४ हजार ८४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ९५५ जनाको पीसीआर परीक्षण गर्दा ८९ जना र २ हजार १२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार १५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १३० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८४ हजार ८४० जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या दुई हजार १९१ रहेको छ । जसमध्ये २ हजार ११९ जना होम आइसोलेसनमा छन् भने ७२ जना संस्थागत आइसोलेसनमा १९ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९९ हजार ४६ र एन्टिजेन विधिबाट १ लाख ५१ हजार ६२७ जना पुगेको छ ।