राष्ट्रपति भण्डारी र चिनियाँ नेता लीबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु बीच भेटवार्ता भएको छ । बुधबार राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति भण्डारी र चिनियाँ नेता लीबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ । राष्ट्रपति भण्डारीले चिनियाँ नेता लीको नेपाल भ्रमणप्रति खुसी व्यक्त गरेकी छिन् । अध्यक्ष लीले भेटमा सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका तत्कालैदेखि सञ्चालन हुने जानकारी गराएका हुन् ।



राष्ट्रपतिका प्रेसविज्ञ टीका ढकालका अनुसार अध्यक्ष लीले राष्ट्रपति भण्डारीसमक्ष आफूले नाकाहरु सञ्चालनका लागि उपप्रधानमन्त्री र यो क्षेत्रको क्षेत्रीय व्यापार हेर्ने अधिकारिसँग कुराकानी गरिसकेको जानकारी दिए । अध्यक्ष लीले राष्ट्रपति भण्डारीको नेतृत्वमा महिला सहभागिताका लागि नेपालले हासिल गरेको प्रगति अनुकरणीय रहेको उल्लेख गर्दै यसबाट विश्वले सिक्न सक्ने बताए ।

त्यस्तै भेटमा नेता लीले विश्व शान्ति, चीनसँगको मित्रतापूर्ण सम्बन्धलाई निरन्तरता दिएको र एक चीन नीतिप्रति प्रतिवद्धता व्यक्त गरेकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद दिए । यस्तै राष्ट्रपतिले नेपाल–चीनबीच भएका सम्झौताहरुलाई कार्यान्वयनमा लानका लागि आग्रह गरिन् । अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।

 

सम्बन्धित समाचार