नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदौ ।
प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो १ बजे पुनः बस्नेगरी स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले शनिबार दिउँसो १ बजे पुनः बस्नेगरी बैठक सकिएको घोषणा गरेका हुन् ।
आजको बैठकले विभिन्न ३ विधेयक पारित गरेको छ । बैठकले ‘पशुस्वास्थ्य तथा पशुसेवा विधेयक, २०७९’, ‘बीमा विधेयक, २०७९’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ पारित गरेको हो । बैठकबाट अर्थमन्त्रीको समेत कार्यभार सम्हालेकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रस्तुत गरेको ‘बीमा विधेयक, २०७९’ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
यसैगरी, बैठकले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९’ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ । असोज १ गते शनिबार मध्यरात १२ बजेबाट चालू प्रतिनिधिसभाको आयु सकिन लागेकाले भोलिको बैठक अन्तिम बैठक हुनेछ ।