देउवाले ओलीलाई परमादेशकै कारण सँगै काम गर्न पाएको भनेपछि…

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको परमादेशकै कारण सँगै काम गर्न पाएको बताएका छन् । आज (शनिबार) प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले सरकारसँगै संसद् पनि परमादेशबाट नै आएको भन्दै त्यही कारणले अहिले सँगै संसदमा बसेर काम गर्ने अवसर मिलेको बताए । ‘हुन त हाम्रो प्रतिपक्ष दलको नेताले परमादेशको सरकार भनेर भन्नु हुन्छ । यो संसद्‍ नै परमादेशबाट आएको हो । जसमा उहाँहरू र म काम गर्न पाइरहेका छौं । परमादेश नभएको भए उहाँ र हामी सँगै बसेर काम गर्न पाउने थिएनौं । विधेयक पारित गर्न सक्दैनथ्यौं । परमादेशले भेट गर्ने मौका दिएको छ,’ देउवाले भने ।



त्यस्तै देउवाले वर्तमान सरकारले राम्रो उपलब्धी हासिल गरेको पनि दाबी गरे । उनले सरकारले संघ प्रदेश र स्थानीय तहको निर्वाचनमा समयमा सम्पन्न गर्न लागेको बताए । ‘सविधान जारी भएपछि संघ, प्रदेश र स्थानीय तहको निर्वाचन गर्ने अवसर प्राप्त भयो । यसमा महत्त्वपूर्ण कार्यमा गठबन्धनका सबै दललाई स्मरण गर्न चाहन्छु । गणतन्त्र आएपछि संसद्‍ पहिलो पटक विघटन भयो,’ उनले भने ।

यस्तै उनले संसद्ले महत्वपूर्ण उपलब्धि हासिल गरेको आफूले महशुस गरेको उल्लेख गरे गर्दै वर्तमान सरकार र सत्ता गठबन्धनकै कारण संविधान र लोकतन्त्रको रक्षा भएको बताए । प्रधानमन्त्री देउवाले देशभर आएको बाढीपहिरामा भएको क्षतिको लेखाजोखाका साथै त्यसमा पीडितको तत्काल उद्धार गरिएको, घाइतेको उपचार, घरबारविहीन तथा मृतक परिवारलाई राहत उपलब्ध गराउन सरकार लागिपरेको जानकारी गराए ।

सम्बन्धित समाचार