नवकान्तिपुर संवाददाता
काठमाडौं, २ असोज ।
वरिष्ठ पत्रकार देवेन्द्र गौतमको ७७ वर्षको निधन भएको छ । बी एण्ड बी अस्पतालको भेन्टिलेटरमा उपचाररत गौतमको आज (आइतबार) बिहान निधन भएको हो ।
गौतमलाई कोभिड सङ्क्रमणबाट मुक्त भएपछि पनि श्वासप्रश्वासमा गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो । नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक गौतमलाई निमोनिया देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
गौतम समाज नेपालका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासङ्घका कार्यवाहक सभापति थिए । पाँच दशक लामो सक्रिय र स्वतन्त्र पत्रकारिता जीवनमा उनले सदा प्रजातन्त्रका पक्षमा कलम चलाएका थिए । २०४२ को बम काण्डका बेला रामराजाप्रसाद सिंहको भाषण अंश छापेको निहुँमा उनलाई छ महिना हनुमानढोकामा थुनिएको थियो । उनको अन्त्येष्टि पशुपति आर्यघाटमा हुने उनका सुपुत्र किरण गौतमले जानकारी दिए ।