नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असोज ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ९२४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ४८८ जनाको पीसीआर परीक्षण गर्दा ७५ जना र १ हजार ४३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार १६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १६५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८५ हजार ५६० जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या एक हजार ७४० रहेको छ । जसमध्ये १ हजार ६७८ जना होम आइसोलेसनमा छन् भने ६२ जना संस्थागत आइसोलेसनमा र २० जना आईसीयूमा उपचाररत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९९ हजार ३१६ र एन्टिजेन विधिबाट १ लाख ५१ हजार ८०६ जना पुगेको छ ।