सत्तारुढ गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय (विज्ञप्तिसहित)

राष्ट्रपतिको कदमको विषयमा सत्तारुढ गठबन्धनको बैठक

सत्तारुढ गठबन्धनको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदम गैरसंवैधानिक रहेको बताएको छ । आज (बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकले राष्ट्रपतिको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको संसद्को अपमान र अवमूल्यन गरेको बताएको हो ।

सत्तारुढ गठबन्धनमा रहेका ५ दल मध्ये ४ राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयुक्त विज्ञप्ति जारी गरी राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको ठहर गरेको छ । सत्तारुढ गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेको छैन ।



‘राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको छ। राष्ट्रपतिको यो कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमा-बाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएका छन् भने अर्कोतिर संविधान सभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मुल्य मान्यतामा गम्भीर प्रहार भएको यो बैठक ठहर गर्दछ’ संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०७९/०६/०५ गते बसेको सरकारमा सहभागि दलहरुको सयुक्त बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणीकरणका लागि सम्माननीय राष्ट्रपति समक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथि नै प्रहार गरेको ठहर गर्दछ । राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको छ ।’

त्यस्तै बैठकले राष्ट्रपतिको कदमले नागरिकता प्राप्त गरिसकेका नेपाली आमा-बुबाका सन्तान नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित भएको पनि ठहर गरेको छ । गठबन्धनले संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यतामा गम्भीर प्रहार भएको पनि जनाएको छ । विज्ञप्तिमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

विज्ञप्ति

सम्बन्धित समाचार