नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असोज ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ३ हजार २६२ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार १९० जनाको पीसीआर परीक्षण गर्दा ५९ जना र २ हजार ७२ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार १६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १३७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८६ हजार ३२ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या एक हजार ४०५ रहेको छ । जसमध्ये १ हजार ३६२ जना होम आइसोलेसनमा छन् भने ४३ जना संस्थागत आइसोलेसनमा र ६ जना आईसीयूमा उपचाररत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९९ हजार ४५३ र एन्टिजेन विधिबाट १ लाख ५१ हजार ८९० जना पुगेको छ ।