नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ असोज ।
काठमाडौँ महानगरपालिकाले व्यवसायी र संघसंस्थालाई ‘परिचय पाटी’ शुल्क बुझाउन ३० दिने अल्टिमेटम दिएको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिकाले यस्तो अल्टिमेटम दिएको हो ।
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघसंस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको ‘परिचय पाटी’ (व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क नबुझाएको भन्दै ३० दिनभित्र बुझाउन समय तोकेको हो ।
‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघसंस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको नपाइएको हुँदा यस सूचना प्रकाशन भएको ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ,’ काठमाडौँ महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
त्यस्तै उक्त अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी महानगरपालिकाले तत्काल हटाउने सूचनामा भनिएको छ ।
सूचना