नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधानको पालना हुन नसकेको आरोप लगाएका छन् । शुक्रबार पार्टी निकट अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीको तेस्रो राष्ट्रिय भेलालाई राजधानीमा सम्बोधन गर्दै उनले राष्ट्रपतिमाथि यस्तो आरोप लगाएका हुन् ।
अध्यक्ष दाहालले राष्ट्रपतिबाट भएको यो कार्यलाई सामान्यरुपमा लिन नमिल्ने धारणा पनि राखे । अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको पालक र संरक्षकबाटै संविधान मिच्ने काम भएको बताए ।
उनले मुलुकमा ऐतिहासिक जनआन्दोलन र जनयुद्धका उपलब्धिलाई संस्थागत हुन नदिने शक्ति अझै क्रियाशील रहेको बताए । उनले गत वर्ष संसद् विघटनबाट सुरु भएको प्रतिगमन त्यतिबेलाका लागि परास्त गरिए पनि त्यो अझै नरोकिएको समेत बताए । प्रचण्डले संविधान र व्यवस्थामाथि गत सालदेखि नै सुरु भएको प्रतिगमन अझै नरोकिएको दाबी गरे । यसका विरुद्धमा आन्दोलनको तयारी गर्न अध्यक्ष प्रचण्डले किसानलाई आग्रह गए ।
‘हामीले आवाज उठाएनौँ भने प्रतिगमनको फँडाले फेरि डस्न सक्छ, किनकी यसले ऐतिहासिक उपलब्धिविरुद्ध रातदिन प्रहार र षडयन्त्र गरिरहेको छ’, उनले भने । यसका साथै अध्यक्ष दाहालले प्राप्त उपलब्धिलाई सिध्याउन नेतृत्वमाथि प्रहार गर्ने क्रममा आफूमाथि भ्रष्टाचारका साथै अन्य खालका झुटा प्रचार केन्द्रित गरिएको बताए।
‘भारत गएका बेला हुँदै नभएको भेटलाई पनि भेटभयो भन्दै नितान्त झुटा प्रचार गरिएको छ’, अध्यक्ष दाहालको भनाइ थियो । आफूले दुई पटक सरकारको नेतृत्व गर्दा ‘भ्रष्टाचार भयो’ भन्ने अवसर कसैलाई नदिएको भन्दै उनले अहिले करोडौँ खर्च गरेर आफूविरुद्ध प्रचार केन्द्रित गरेको बताए ।
अध्यक्ष दाहालले वामपन्थी शक्तिको एकताका लागि आफू क्रियाशील रहिरहेको जानकारी पनि सम्बोधनका क्रममा दिएका थिए । भेलामा नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासङ्घका नेता बलराम बाँस्कोटाले दाहाललाई वामपन्थी पार्टीबीच एकता गर्ने कार्यमा खुट्टा नकमाउन आग्रह गरेका थिए । भेलामा महासङ्घ आबद्ध २४ वटा किसान सम्बद्ध घटक सङ्गठनको सहभागिता रहेको छ । रासस