प्रचण्डले बाबुरामसँगको सहकार्य चुनावसम्म मात्र होइन भनेपछि…

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि नभई, दीर्घकालीन रहेको बताएका छन् । शनिबार नेपाल समाजवादी पार्टीद्वारा काठमाडौँमा आयोजित चियापान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले दुई पार्टी चुनावका लागि मात्र नभएर समाजवादको नयाँ मोडल दिनका लागि एकै ठाउँ उभिएको बताए । उनले बाबुराम र आफू एक ठाउँमा हुनुको अर्थ नै बेग्लै हुने भन्दै यो देशलाई समृद्धिको विकासको नयाँ मोडल दिनुपर्ने बताए ।



‘यो निर्णय चुनावका लागि मात्र गरिएको निर्णय होइन, त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौं ’ प्रचण्डले भने । आसन्न निर्वाचनमा नेपाल समाजवादी पार्टी माओवादीको चुनाव चिन्हमा उठ्दै छ । त्यस्तै उनले प्रचण्ड र बाबुराम एकै ठाउँमा हुँदा लाखौँ जनतामा उत्साह थपिने दाबी गरे ।

प्रचण्डले भने ‘इतिहासले, नेपाली जनताले निकै ठूलो त्याग तपस्या र बलिदानबाट उनीहरुले पैदा गरेको नामहरु हुन् प्रचण्ड र बाबुराम । हामी एकै ठाउँमा हुँदा त्यो दुई जना एक ठाउँमा भएको हुँदैन, लाखौं करोडौं जनताहरु फेरि एकतावद्ध भएर नयाँ युग निर्माणतिर अगाडि जाने ऊर्जा प्राप्त हुने गर्दछ ।’ प्रचण्डले यो मोडल २१ शताब्दीको समाजवादको मोडल हुने बताए । उनले प्रचण्ड–बाबुराम दुईवटा नाम नेपाली जनताले ठुलो बलिदान र त्यागबाट पैदा गरेको जिकिर गरे ।

 

सम्बन्धित समाचार