नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असोज ।
सरकारले असोज ७ गते शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।
असोज ७ गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृतिविद एवं शताब्दी पुरूष जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक जना नर्स उपलब्ध गराउने, राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला)लाई सहज जीवन यापनको लागि यसअघि मासिक २५ हजार रुपैयाँ दिँदै आएकोमा अब मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
संस्कृतिविद एवं शताब्दी पुरूष जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक जना नर्स उपलब्ध गराउने निर्णय
राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला)लाई सहज जीवन यापनको लागि यसअघि मासिक २५ हजार रुपैयाँ दिँदै आएकोमा अब मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय
थर्ड मिनिस्टेरियल कन्फ्रेन्सन रिजनल इकोनोमिक कोअप्रेशन एण्ड इन्ट्रीगेशन इन एशिया एण्ड द प्यासिफिकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई स्वीकृत दिने निर्णय
राष्ट्रिय शतर्कता केन्द्र शतर्कता प्रहरी तेस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय
क्यानडाको आटवामा २०७९, असोज १९ गतेदेखि २० गतेसम्म आयोजना हुने डिजिटल समिटमा सहभागी हुन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई स्वीकृत दिने निर्णय
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट सञ्चालन हुने बजार अनुगमन कार्यक्रममा आर्थिक वर्ष ०७९/०८० का लागि राजपत्राङ्कित स्तरका पदको स्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय
प्राइभेट फर्म रजिस्ट्रेशन चौथो संशोधन नियमावली २०७९ लाई स्वीकृत गर्ने निर्णय
दार्चुला जिल्लाको महाकाली नगरपालिका र नौगाढ गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय
चुरे संरक्षण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय
माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको प्रशारण लाइनको आरओडब्ल्यू र टावर ब्यांक संरचनाहरु निर्माण गर्नका लागि सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिकाका वडा नम्बर ३,४,५, ६ र ११ मा रहेको राष्ट्रिय वन भित्रको ५.८११ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत प्रदान गर्ने निर्णय
विभिन्न स्थानीय तहहरुलाई विभिन्न प्रयोजनका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय
विज्ञापन बोर्डका लागि आर्थिक वर्ष ०७९/०८० को लागि अधिकृत स्तरका कर्मचारीहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय
सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित गर्न एवं सडक दुर्घटनालाई न्युनिकरण गरी नागरिकको आगमनलाई सहज, सुरक्षित र भरपर्दो बनाउन सवारी साधनको यान्त्रिक परीक्षण, भारवहन क्षमता सवारीको गति, टाइम कार्डको अवलम्वन लगायतका विषयमा अनुगमन, नियमन, सुरपरीवेक्षण, निर्देशन र समन्वयगर्न गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा एक समिति
गठन गरी जिम्मेवारी दिने निर्णय