प्रचण्डले आफू प्रधानमन्त्रीको ‘रेस’ मा नरहेको भनेपछि…

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्रीको ‘रेस’मा नरहेको बताएका छन् । आज (सोमबार) प्रेस सेन्टर नेपालले चितवनमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ‘

अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको भन्दै लोकतन्त्र, राष्ट्र र संविधानको रक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताए । उनले विसं २०७४ को निर्वाचनपछि पाँचैँ वर्ष प्रधानमन्त्री हुने अफर आएको पनि जिकिर गरे । उनले भने, ‘चाहेको भए विसं २०७४ को निर्वाचनपछि पाँचैँ वर्ष प्रधानमन्त्री हुने अफर मलाई थियो ।’



उनले आर्थिक विकास र समृद्धि आफ्नो प्राथमिकता भएको भन्दै प्रधानमन्त्री मुख्य नभएको दाबी गरे । राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकासको वातावरण बनाउने र आफूलाई त्यसका निम्ति समर्पित गर्ने प्रतिबद्धता रहेको प्रचण्डले बताए । आउँदो समय सम्वृद्धिको दशक भएको भन्दै उनले अबको क्रान्ति आर्थिक हुनुपर्छ भने ।

उनले भने, ‘जीवनको उत्तरार्धको बाँकी समय आर्थिक सम्वृद्धि र क्रान्तिका लागि लाग्छु ।’ अर्बौका परियोजना कसरी नेपाल ल्याउन सकिन्छ र हामीकहाँ भएको प्राकृतिक साधन स्रोतको सही उपयोग गर्न सकिन्छ भन्नेमा आफ्नो ध्यान रहेको उनका भनाइ थियो । उनले भने, ‘एउटा नयाँ क्रान्ति समाजवादका निम्ति, सामाजिक न्यायका लागि गर्ने परिकल्पना गरिएको छ ।’

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ज्येष्ठ पत्रकारका लागि कल्याणकारी कोष, नेपाल पत्रकार महासङ्घको भौतिक पूर्वाधारमा सहयोग, तालिम केन्द्रका लागि जमिन, लोककल्याणकारी विज्ञापन, लेखन वृद्धिका लागि बजेट लगायतमा महानगरले सहकार्य गरेको बताइन् ।

सम्बन्धित समाचार