नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असोज ।
नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिने निर्णय गरेको छ । आज (सोमबार) बसेको कोइराला समूहको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले असोज १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । धर्ना कार्यक्रम मध्याह्न १२ बजेदेखि १ बजेसम्म हुने बैठकले जनाएको छ । त्यस्तै बैठकले समानुपातिक सूची सभापति शेरबहादुर देउवाले असोज १४ गतेसम्म पनि नसच्याए थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।
बैठकमा केन्द्रीय सदस्यहरु मधु आचार्य, प्रतिमा गौतम, अजयबाबु सिवाकोटी, नेताहरु गुरु घिमिरे, भुपेन्द्रजंग शाही, चितवनका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी लगायत सहभागी छन् । यसअघि नेपाली काङ्ग्रेसको संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेद्वारी चयन र टिकट वितरण प्रणालीमा एकलौटी गरेको भन्दै इतर समूह (शेखर कोइराला पक्षधर) नेताहरुले शनिबार खबरदारी सभाको आयोजना गरेका थिए ।