नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असोज ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा पाचँदलीय गठबन्धनले आफनो तयारीलाई थप तीव्रता दिइरहेको छ । यसै क्रममा नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एमालेलगायतका दलहरुले आफ्नो आन्तरिक तयारीमा जुटिरहेका छन् । गठबन्धनभित्रको ठूलो दल नेपाली काँग्रेसमा यतिखेर पार्टीभित्र टिकट बाँडफाँडको विषयलाई लिएर भद्रगोल अवस्थाको सिर्जना भएको छ ।
नेपाली काँग्रेसले आसन्न निर्वाचनको केन्द्रीय प्रचारप्रसार कमिटीको संयोजकमा डा.प्रकाशशरण महतलाई मनोनित गरेको छ । पार्टीका प्रवक्तासमेत रहेका महतलाई प्रचारप्रसार संयोजक चयन गरेको प्रति पार्टीभित्र आलोचना भइरहेको छ । सभापति शेरबहादुर देउवाले महतलाई समितिको संयोजकमा मनोयन गरेपछि विरोधका आवाजहरू मुखरित भएका हुन् ।
पार्टीका प्रवक्तासमेत रहेका महतलाई दोहोरो जिम्मेवारी दिएको भन्दै अधिकांश नेता तथा कार्यकर्ताहरू रुष्ट बनेको बताइन्छ । महतले काँग्रेसका सबै नेता तथा कार्यकर्तालाई समेट्न नसक्ने भन्दै आलोचना चुलिएकोे हो । उनले देउवा पक्षको मात्र कुरा सुन्ने गरेकोले पनि यसो भनिएको हुनसक्छ ।
डा.शेखर कोइराला समूहका नेताहरूले गरिरहेका पछिल्ला गतिविधिलाई लिएर महतले कडा अभिव्यक्ति दिएका छन् । उनले अनुशासनबाहिर गएका उनीहरुलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । पार्टी कार्यलयमा भएको पत्रकार सम्मेलनमा उनले उक्त कुरा गरेका हुन् । पार्टीको प्रवक्ताभन्दा पनि सभापति देउवाको मात्र प्रवक्ताजस्तो भएर बोल्न रूचाउने महत संस्थापन इतर समूहप्रति असहिष्णु बन्ने गरेका छन् ।
विरोधी आवाजहरूलाई दबाएर जाने सोच भएका महतले आसन्न निर्वाचनमा नेपाली काँग्रेसका मतदाता र कार्यकर्तालाई कसरी समन्वय गर्लान् भन्ने जिज्ञासा आम रूपमा उठेको छ । महतले आफूलाई सच्याउन नसक्ने हो भने उनलाई दिइएको पछिल्लो जिम्मेवारीले सिङ्गो पार्टीलाई नकारात्मक प्रभाव पार्न सक्ने कुरालाई नजरअन्दाज गर्न सकिन्न ।