नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ असोज ।
घटस्थापनाको दिनदेखि नै हिन्दुहरूको महान् चाड दशैं प्रारम्भ भइसकेको छ । रेडियो नेपालबाट गुन्जिने मालश्री धुनदेखि हरेक बिहान आउने रेडियो नाटकले चाडलाई महशुस गराउँछ ।
दशैंलाई लक्षित गर्दै धेरै गीत तयार भएका छन् । हरेक वर्ष नयाँ गीतहरू सार्वजनिक हुने भए पनि केही ‘सदाबहार’ छन् । परदेशमा रहेका र मुग्लान भासिएकाको भावनाको प्रतिनिधित्व गर्ने गीतसँगै पुराना गीतको दबदबा कायमै छ । कालजयी र मर्मस्पर्शी लाग्ने ती गीत वर्षौँदेखि बजिरहेका छन् । रेडियो तथा टिभीमा घन्किने मालश्री धुनले नै दशैंको रौनक भित्र्याउँछ ।
सर्वाधिक बज्ने गीत हो ‘दशैं आयो’ । फिल्म ‘मुग्लान’मा समावेश गीतले घर आँगनमै दशैं भित्रिएको अनुभूत गराउँछ । लोकनाथ सापकोटाको शब्दमा स्वर उदित नारायण झा तथा दीपा झाले दिनुभएको छ । गीतमा सुरेश अधिकारीले सङ्गीत दिएका छन् । रातो टीका, जमरा, पिङ खेल्दाको अनुभूतिसँगै घरपरिवारको खुसियाली समेटिएको गीतको भिडियो दर्शकमाझ प्रिय नै छ ।
स्वरसम्राट नारायण गोपालले स्वर दिएको ‘बिछोडको पीडा’ पनि दशैंमा बज्ने गीतमध्येको एक हो । नारायण गोपालसँगै दिलमाया खातीले स्वर दिएको गीतले दशैंमा गाउँ फर्किरहेका युवाको प्रतिनिधित्व गरेको छ । ‘बिछोडको पीडा नसकी खप्न दशैंका बेलामा, तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा’ बोलको यो गीतले परदेशमा रहँदाको पीडा एवं घर फर्कने चाहनालाई उजागर गरेको छ । गीत रत्न शमशेर थापाले लेखेका हुन् ।
दशैं, तिहारको उत्साह, उमङ्ग र दुःखलाई प्रतिनिधित्व गर्ने गीतमध्येको एक हो सुगम पोखरेलले तयार गर्नुभएको ‘दशैं तिहार’ । रवि श्रेष्ठले शब्द लेखेको गीतमा सङ्गीत स्वयं सुगमले नै दिएका छन् । परदेशीले घरपरिवारप्रति पोखेको बेदनासहितको गीतमा दशैंमा छोराको बाटो कुरिरहेकाका आमाबाबु मात्र होइन, तिहारमा माइतीको पर्खाइमा रहेका चेलीको भावना समेत समेटिएको छ ।
महान् चाडको अर्को पाटोलाई कमेडी शैलीमा चित्रण गरिएको गीत हो ‘यो दशैं नै हो कि’ । योगेश्वर अमात्यले स्वर दिएको गीतमा उत्साह उमङ्गसँगै आर्थिक व्ययभार थपिने यथार्थलाई समेटिएको छ । दशैंमा बज्ने गीतमध्ये ‘रातो टीका निधारमा’ उत्तिकै लोकप्रिय छ । दशैंको उत्साहलाई चित्रण गरिएको गीतलाई सहदेव ढुङ्गानाले रचना गरेका हुन् । यसमा शम्भूजित बाँस्कोटाले सङ्गीत र उमेश पाण्डे र रमना श्रेष्ठले स्वर दिएका छन् ।
वरिष्ठ सङ्गीतकार शम्भूजित बाँस्कोटा पहिले दशैं, तिहार, होली पर्वसँग फिल्ममा आउँदा त्यहीअनुसारको गीत तयार गरिने प्रचलन रहेको बताउँछन् । उनको गीत ‘रातो टीका निधारमा’ अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छ । ‘मैले सिर्जना गरेको गीतले तत्कालीन समयमा राम्रो प्रभाव छाडेको रहेछ । दशैंलाई महसुस गराउने भएकाले नै पुस्तान्तरण भइरहेको छ । हिजोदेखि आजसम्म गीतलाई दशैंमा उत्तिकै सेलिब्रेट गरिन्छ’, सङ्गीतकार बाँस्कोटाले भने ।
सङ्गीतकारसँगै गायक समेत रहेका अर्जुन पोखरेलले आफूलाई श्रोताको हिसाबले पुरानै दशैं गीत प्रिय लाग्ने बताए । उनी भन्छन् , ‘नयाँ गीतहरू तयार गर्न निर्माता तथा निर्देशक तयार हुनुभएन । दशैं, तिहारमा रहेर बनेका गीत त्यस समयमा मात्र बज्छ भन्ने सोचले गर्दा नै नयाँ गीत आएको छैन ।’ फिल्म झैँ चर्चा र लगानी एक्ल रुपमा आउने गीतले नपाउने हुँदा नोटिस नभएको उनको भनाइ छ ।रासस