नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ असोज ।
डेंगु रोगको महामारीका कारण यसपालि पूर्व राजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने भएका छन् । पूर्वराजाले यसपालिको दशैंको टीका नलगाइदिने निर्णय लिएको उनका संवाद सचिव फणी पाठकले जानकारी दिएका हुन् ।
पूर्वराजाले शनिबार औपचारिकरुपमै टीका नलगाइदिने घोषणा गरिसकेका छन् । डेंगु रोगको महामारी फैलिरहेका बेला शाहले दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने निर्णय गरेको पाठकले बताए ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनजीवन स्वास्थ्यका कारण आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा राखेर शाहले यसपालि शक्तिपिठको दर्शन नगर्ने तर निवासबाट भक्तिभाव राख्नेछु ।’
यता राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएकी छन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै ष्ट्रपति भण्डारीले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने जानकरी दिएको हो ।
टिकाको दिन अर्थात् १९ गते दिउँसो २ देखि ३ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्टहरुलाई समय छुट्याइएको छ । त्यस्तै ३ देखि ५ बजे इच्छुक सर्वसाधारणले राष्ट्रपतिबाट दशैंको टीका लगाउन सक्ने विज्ञप्तिमा उल्लेख छ ।