नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असोज।
वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिज घरेलु टोली अष्ट्रेलियाले क्लिन स्विप गरेको छ । शुक्रबार राति भएको खेलमा अष्ट्रेलियाले पाहुना टोली वेस्ट इन्डिजलाई ३१ रनले पराजित गर्दै दुई खेलको सिरिज २-० ले क्लिन स्विप गरेको हो ।
अष्ट्रेलियाको ब्रिसबेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । अष्ट्रेलियाका लागि डेभिड वार्नरले अविजित रहँदै ७५ रनको अर्धशतकीय पारी खेले भने टिम डेभिडले ४२ रन बनाए । त्यस्तै स्टिभ स्मिथ १७ रन बनाई आउट भए भने म्याथ्यु वेडले १६ र कप्तान आरोन फिन्चले १५ रन जोडे । वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले ३ विकेट लिए भने ओवेड म्याकोईले २ विकेट लिँदा ओडेन स्मिथको भागमा १ विकेट रह्यो ।
१७९ रनको लक्ष्य लिएर मैदान उत्रेको पाहुना टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका लागि जोनसन चाल्सले २९ रन बनाए भने अकिल होसेनले २५ रन जोडे । यस्तै ब्राण्डन किंग्स २३ रन बनाई आउट भने रोभमेन पावेलले १८ रन जोडे । अष्ट्रेलियाका लागि मिचेल स्टार्कले ४ विकेट लिए भने प्याट कमिंसले २ विकेट लिँदा क्यामरन ग्रिन र एडम जाम्पाको भागमा समान १-१ विकेट रह्यो ।