नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असोज।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने घोषणा गरेपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रचण्डलाई शुभकामना दिएका छन् । शुक्रबार एक ट्विट गर्दै भट्टराईले प्रचण्डलाई शुभकामना दिएका हुन् ।
यसअघि भट्टराईले गोरखा–२ बाट निर्वाचन नलड्ने घोषणा गरेका थिए । माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाएको थियो । उनले आफूले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यसपटक प्रचण्ड प्रत्यासी बन्ने निर्णयको स्वागत गरेको भन्दै शानदार विजयको हार्दिक शुभकामना दिएका छन् ।
डा. भट्टराईले ट्विटरमा लेखेका छन् -‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु। वर्तमान नेपाल राज्यको उद्गम थलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट उहाँको उम्मेदवारी निकै ठुलो सांकेतिक महत्वको छ। उहाँको शानदार विजयको हार्दिक शुभकामना !’