नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असोज।
नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिबार ढुंगेलको काँडाघारीस्थित आफ्नै निवासमा बाथरुममा लडेर निधन भएको हो ।
परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । उनी मधुमेहका बिरामी भएको र बिहान बाथरूममा चिप्लिएर मृत्यु भएको हुनसक्ने काठमाडौं प्रहरीका एसएसपी भरत बोहोराले जानकारी दिए । अहिले घटनास्थलमा पुगेर प्रहरी टोलीले घटनास्थल प्रकृति मुचुल्का उठाउन थालेको छ ।
उनी २०६४ सालमा ओखलढुंगा जिल्लाबाट माओवादीबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । सशस्त्र युद्धकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठ हत्या अभियोगमा सर्वोच्च अदालतबाट दोषी ठहर गर्दै उनलाई जन्मकैद फैसला गरिएको थियो । ढुंगेल नेकपा विभाजन भएपछि एमालेमै बसेका थिए ।