नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ असोज ।
मंसिर ४ मा हुने संघ र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज (आइतबार) हुँदै छ । निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ ।
दलहरूले वर्षालगायतका कारण मनोनयनमा समस्या हुने भन्दै कार्यतालिका फेरेर समयावधि बढाउन निर्वाचन आयोगसमक्ष आग्रह गरेका थिए तर आयोगले त्यसलाई अस्वीकार गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कार्यतालिका पुनरावलोकनको कुनै आधार नदेखेकाले परिवर्तन नहुने जानकारी गराएका छन् ।
मनोनयन दर्ताका लागि असोज २३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म नै कायम हुनेछ ।
प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ आयोगमा ८७ दल दर्ता छन् भने प्रदेश सभातर्फ प्रदेश १ मा ७०, मधेसमा ७५, बागमतीमा ७२, गण्डकीमा ६६, लुम्बिनीमा ६८, कर्णालीमा ६४ र सुदूरपश्चिममा ६४ दल दर्ता भएका छन् ।