नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असोज ।
मनाङबाट प्रदेशसभा सदस्यमा दीपक मनाङे (राजीव गुरुङ) निर्विरोध निर्वाचित भएका छन् । मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार दोर्जे लामाले निर्वाचन कार्यालयमा उम्मेदवारी फिर्ता लिन निवेदन दिएसँगै मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि मनाङे र लामाको उम्मेदवारी परेको थियो । मनाङेलाई बुधबार नै निर्विरोध निर्वाचित भएको घोषणा गरिने मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले जानकारी दिए । मनाङेलाई कांग्रेस र एमाले दुबैले समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् ।
यसअघिको निर्वाचनमा पनि मनाङे एमालेको समर्थनमा स्वतन्त्र निर्वाचित भएका थिए । गुरुङ हाल गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री हुन् ।