नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असोज ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह ‘सी’ को खेलमा जर्मन क्लब बायर्न म्युनिख विजयी भएको छ । बुधबार राति भएको समूह चरण अन्तर्गतको खेलमा भिक्टोरिया प्लेजेनलाई ४-२ ले पराजित गर्दै बायर्न म्युनिख नकआउट चरणमा प्रवेश गरेको हो ।
खेलको १० औं मिनेटमा साडियो मानेले गोल गर्दै बायर्न म्युनिखलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको १४ औं मिनेटमा थोमस मुलरले गोल गर्दा टोलीको अग्रता दोब्बर बनाए । खेलको २५ औं मिनेटमा लियोन गोर्टेज्काको गोल मार्फत् बायर्न ३-० ले अघि रह्यो । यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ३५ औं मिनेटमा गोर्टेज्काले गोल गर्दै बायर्नलाई ४-० को अग्रता दिलाए ।
पहिलो हाफ ४-० मा सकिएको खेलमा भिक्टोरिया प्लेजेनले दोस्रो हाफमा २ गोल गरेपनि खेलमा फर्किन सकेन । खेलको ६२ औं मिनेटमा भिक्टोरिया प्लेजेनका एडमले गोल गर्दै खेललाई ४-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ७५ औं मिनेटमा प्लेजेनका जान क्लिमेन्टले गोल गरेपनि त्यो ढिलो भइसकेको थियो । त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल बायर्न म्युनिखले ४-२ ले आफ्नो पक्षमा पार्यो ।
जितसँगै बायर्नले ४ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ भने अंक विहीन भिक्टोरिया प्लेजेन पुछारमा रहेको छ । त्यसैगरी च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह ‘ए’ को खेलमा मोहम्मद सलाहले कीर्तिमानी ह्याट्रिकको मद्दतमा इंग्लिस क्लब लिभरपुलले स्कटिस क्लब रेन्जर्सलाई ७-१ को फराकिलो अन्तरले पराजित गरेको छ । एकतर्फी बनेको खेलमा यद्यपि अग्रता भने रेन्जर्सले खेलको १७ औं मिनेटमा स्कट एरिफिल्डले गोल मार्फत् लिएको थियो । तर, खेलको २४ औं मिनेटमा लिभरपुलका रोबर्टो फिर्मिन्होले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा लिभरपुलले थप ६ गोल गर्यो । यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ५५ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । त्यस्तै खेलको ६६ औं मिनेटमा डार्विन नुनेजको गोल मार्फत् लिभरपुल ३-१ ले अघि रह्यो । त्यसैगरी खेलको ६८औँ मिनेटमा डार्विन नुनेजको स्थानमा मैदान छिरेका मोहम्मद सलाहले खेलको ७५औँ मिनेटमा डियोगो जोताको पासमा पहिलो गोल गरे भने व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ८० र ८१औँ मिनेटमा गर्दै सर्वाधिक छिटो ह्याट्रिक पुरा गर्ने कीर्तिमान बनाए । त्यसपछि खेलको ८७ औं मिनेटमा हार्भे इलिओटले गोल गर्दै लिभरपुललाई ७-१ को फराकिलो जित दिलाए ।
जितसँगै लिभरपुल ४ खेलमा ९ अंक जोड्दै दोस्रो स्थानमा छ भनर अंक जोड्न नसकेको रेन्जर्स पुछारमा रहेको छ । त्यसैगरी यसै समूहको अर्को खेलमा इटालियन क्लब नापोलीले डच क्लब आयाक्सलाई ४-२ ले पराजित गर्दै प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ । नापोलीको लागि हिर्भिङ लोजानो, जियाकोमो रास्पडोरी, कभिचा केभाराटकेलिया र भिक्टर ओसिमहेनले समान १-१ गोल गरे भने आयाक्सका लागि डाभी क्लासेन र स्टेभन वर्गवाइनले समान १-१ गोल फर्काए ।
त्यस्तै युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तरगत समूह ‘सी’ को खेलमास्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब इन्टरमिलानसँग ३-३ गोलको बराबरी खेलेको छ । जित्नुपर्ने खेलमा बराबरी खेलेसँगै बार्सिलोनाको लगातार दोस्रो सिजन समूहचरणबाटै बाहिरिने खतरा बढेको छ । बार्सिलोनाको घरेलु मैदान नउक्याम्पमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको ४० औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफको ५० औँ मिनेटमा इन्टर मिलानका मार्टिनेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ६३ औं मिनेटमा मार्टिनेजको गोलमार्फत् इन्टर मिलान २-१ ले अघि रह्यो । तर, खेलको ८२ औं मिनेटमा रोबर्टो लेवान्डोस्कीले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए । यस्तै खेलको ८९ औँ मिनेटमा गोसेन्सले गोल गर्दै इन्टरलाई ३-२ को अग्रता दिलाए । तर, दोस्रो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै लेवान्डोस्कीले बर्सिलोनाको हार टारे ।
बराबरीपछि इन्टर मिलान ७ अंकका साथ दोस्रो स्थानमा छ भने ४ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा रहँदा बायर्न म्युनिख १२ अंकका साथ शीर्ष स्थानमा रहेर यसअघिनै नकआउट चरणमा प्रवेश गरिसकेको छ ।