नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ असोज ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा)का चारजना मन्त्रीलाई बर्खास्त गरेपछि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस सरकारमा सहभागी नेपाली कांग्रेस पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई पनि बर्खास्त गरेका छन् ।
नेपाली कांग्रेसबाट सरकारमा मन्त्री रहेका तीन जनालाई जसपा नेतृत्वको मधेस प्रदेश सरकारका मुख्यमन्त्री राउतले हटाएको एक नेताले जानकारी दिए । यसअघि मुख्यमन्त्री राउतले पनि कांग्रेसबाट प्रदेशमा रहेका तीन जना मन्त्रीसँग राजीनामा माग गरेका थिए । तर उनीहरूले राजीनामा दिन अस्वीकार गरेपछि गरेपछि मुख्यमन्त्री राउतले उनीहरूलाई बर्खास्त गरेका हुन् ।
बर्खास्त हुनेमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह, खानेपानी तथा ऊर्जा मन्त्री ओम प्रकाश शर्मा रहेका छन् । सत्ता गठबन्धनकै अरू दुई दल नेकपा (एकीकृत समाजवादी) र माओवादीका मन्त्रीलाई भने मुख्यमन्त्री राउतले बर्खास्त गरेका छैनन् ।
मधेस प्रदेशको सरकारमा नेकपा एकीकृत समाजवादीबाट शत्रुधन महतो वन तथा पर्यटन मन्त्री, प्रमोद यादव कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री र नागेन्द्र राय यादव राज्य मन्त्री छन् । यसैगरी नेकपा माओवादी केन्द्रबाट गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह र राज्यमन्त्री रुवीकुमारी कर्ण छन् । बिहीबार प्रधानमन्त्री देउवाले जसपा गठबन्धनबाट बाहिरिएसँगै प्रधानमन्त्री देउवाले जसपाबाट सरकारमा रहेका चार मन्त्रीलाई हटाएका थिए ।
प्रधानमन्त्री देउवाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई हटाएका हुन् । जसपाले सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गरेको हो ।