अफगानिस्तान टी-२० विश्वकप क्रिकेटबाट बाहिरियो

अफगानिस्तान आईसीसी टी-२० विश्वकप क्रिकेटबाट बाहिरिएको छ । मंगलबार भएको खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएसँगै अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएको हो ।



अष्ट्रेलियाको ब्रिसबेनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो । अफगानिस्तानका लागि रहमानउल्लाह गुरुबाजले २८ रन बनाए भने उश्मान घानीले २७ रन जोडे । त्यस्तै इब्राहिम जाद्रनले २२ रन बनाई आउट भए भने नाजिबउल्लाह जाद्रनले १८ रन बनाए । श्रीलंकाका लागि वानिन्दु हसरंगा डी सिल्भाले ३ विकेट लिए भने लाहिरु कुमाराले २ विकेट लिँदा धनन्जय डी सिल्भा र कसुन राजिथाको भागमा समान १-१ विकेट रह्यो ।

१४५ रनको लक्ष्य लिएर मैदान उत्रेको श्रीलंकाले १८ ओभर ३ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको लागि धनन्जय डी सिल्भाले अविजित रहँदै ६६ रनको अर्धशतकीय पारी खेले भने कुशल मेन्डीसले २५ रन बनाए । यस्तै चारिथ असलंका १९ रन बनाई आउट भए भने भानुका राजपाक्षेले १८ रन जोडे । अफगानिस्तानका लागि राशिद खान र मुजिब उर रहमानले समान २-२ विकेट लिए । समूह १ मा रहेको श्रीलंका ४ खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने २ अंक जोडेको अफगानिस्तान पुछारमा रहेको छ ।

सम्बन्धित समाचार