प्रचण्डले राजावादीसहित प्रतिगमन गर्न चाहनेको अर्को गठबन्धन बनेको छ भनेपछि…

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताएका छन् । बुधबार गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले आयोजना गरेको निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्रचण्डले राजावादीसहित प्रतिगमन गर्न चाहनेको अर्को गठबन्धन पनि बनेको बताएका छन् । ‘संविधान र लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको छ’, अध्यक्ष दाहालले भने, ‘अर्को राजावादीसहित प्रतिगमन गर्न चाहनेको गठबन्धन बनेको छ । यी दुई गठबन्धन आमनेसामने छन् । मङ्सिर ४ गते जनताले फैसला गर्नेछन् ।’



अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा दुई विचार, प्रवृत्ति, संस्कृति र गठबन्धन आमनेसामने भएको उल्लेख गर्दै उनले प्रतिगमनकारी गठबन्धनलाई निर्वाचनमार्फत पराजित गर्नुपर्ने बताए । उनले संविधानको रक्षा गर्ने माओवादीको मुख्य जिम्मेवारी रहेको बताएका छन् । उनले संविधान निर्माण गर्न माओवादीको ठूलो योगदान रहेकाले यसको रक्षा पनि माओवादीले नै गर्नुपर्ने बताए । मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि संरचनागत सुधार गर्न आवश्यक रहेको जनाउँदै उनले संविधानको रक्षासँगै परिमार्जन गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको बताए ।

‘यी दुवै काम गर्न निकै संवेदनशील भएर लाग्नुपर्नेछ’, अध्यक्ष दाहालले भने, ‘मुलुकलाई समृद्ध बनाउनका लागि प्रतिबद्धता पत्रमा संविधान संशोधन र संरचनागत सुधारको आवश्यकता महसुस गरिएको छ, आर्थिक समृद्धि र आर्थिक क्रान्ति गर्न क्रमभङ्ग गर्नुपर्ने अवस्था छ ।’

प्रचण्डले मुलुकको आर्थिक समृद्धिका लागि क्रान्तिको आवश्यकता रहेको बताए । उनले अब शान्तिपूर्ण आर्थिक क्रान्ति सम्पन्न गरिने दाबी गरे । निर्वाचन जित्ने र नजित्ने भन्दा पनि नयाँ पहलकदमीमार्फत देशलाई समाजवादमा लैजाने ढङ्गबाट अगाडि बढिएको उनको भनाइ थियो। मुलुकको एकीकरण र जनक्रान्तिको थालनी गोरखाबाटै भएको उल्लेख गर्दै उनले अब आर्थिक समृद्धिको सुरुआत पनि गोरखाबाटै हुने दाबी गरे ।

‘म गोरखाबाट निर्वाचन लड्ने भनेको कुरा राष्ट्रिय एकता र आर्थिक क्रान्तिको सन्देश हो’, अध्यक्ष दाहालले भने, ‘यो पार्टी पुनःनिर्माणको अभियान पनि हो ।’ आर्थिक विकास र पूर्वाधारका दृष्टिले गोरखा जिल्ला उपयुक्त रहेको आफूले पाएको जनाउँदै उनले बूढीगण्डकी परियोजना तथा उत्तरदक्षिण सडक सञ्जालको विकास गरेर गोरखाको उन्नतिमा गुणात्मक फड्को मार्न सक्ने बताए ।

 

सम्बन्धित समाचार