ओलीले लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछु भनेपछि…

नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारतले मिचेको भूमि फिर्ता ल्याएरै छाड्ने बताएका छन् । शुक्रबार दार्चुलाबाट सुरु भएको एमाले चुनावी सभालाई खलंगामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले शुक्रबारबाट चुनावको विशेष अभियान थालेको भन्दै आफ्नो पार्टीले चुनाव जितेर सरकार बनाएमा लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्ने बताए । उनले भने, ‘आज दार्चुलाबाट हामीले चुनावको विशेष अभियान थालेका छौं । दार्चुलाको खलंगामा उभिएर म दुईवटा कुरा ग्यारेन्टी गर्न चाहन्छु– पछाडि परेको क्षेत्रलाई हामी विकासको मूलधारमा ल्याउँछौं । राष्ट्रियताको प्रश्नमा नेपालले आफ्नो एक इन्च पनि जमिन कसैलाई मिच्न दिनेवाला छैन, मिचिएको जमिन पनि फिर्ता ल्याउँछु ।’



एमालेलाई बहुमत आवश्यक छ
त्यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार साँझ आयोजित चुनावीसभामा उनले यस्तो बताएका हुन् ।

उनले विकास, शान्ति, जनता र राष्ट्रियताका लागि एक्लै बहुमत ल्याउन आवश्यक रहेको बताए । ‘एमाले एक्ललैले बहुमत ल्याउन परेको छ”, अध्यक्ष ओलीले भने, ‘अनि मात्रै देशमा विकासको अभियान चल्न सक्छ ।’

विगतमा एमाले पहिलो वा दोस्रो पार्टी हुने गरेको भए पनि बहुमत नपाएको उनले स्पष्ट गरे । ‘अहिले २०७४ सालमा बमुहत प्राप्त गरेर सरकार चलाउन सकेन भनेर हल्ला हुँदैछ’, उनले भने, ‘०७४ मा प्रत्यक्षतर्फ एमालेलाई १६५ मा ८०, समानुपातिकतर्फ ११० मा ४१ सिट मात्रै आयो ।’

उनले अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ तीन सिट र समानुपातिकतर्फ १४ सिट बहुमतका लागि अपुग रहेको बताए । मुलुक सञ्चालनका लागि टालाटुली नभई सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको उनको भनाइ थियो ।

सम्बन्धित समाचार