नवकान्तिपुर संवाददाता
काठमाडौं, २० कार्तिक ।
इंग्ल्यान्ड अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा श्रीलंकालाई ४ विकेटले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।
अष्ट्रेलियाको सिड्नीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । श्रीलंकाका लागि पाथुम निसन्काले ६७ रनको अर्धशतकीय पारी खेले भने भानुका राजपाक्षेले २२ र कुशल मेन्डिसले १८ रन बनाए ।इंग्ल्यान्डका लागि मार्क उडले ३ विकेट लिए भने बेन स्टोक्स, क्रिस वक्स, साम कुरन र अदिल रशिदको भागमा समान १-१ विकेट रह्यो ।
१४२ रनको लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्यान्डले १९ ओभर ४ बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको लागि एलेक्स हेल्सले ४७ रन बनाए भने बेन स्टोक्स ४२ रनमा अविजित रहे । यस्तै कप्तान जोस बट्लर २३ रन बनाई आउट भए भने क्रिस वक्स ५ रनमा अविजित रहे ।
श्रीलंकाका लागि लाहिरु कुमार, धनन्जय डी सिल्भा र वानिन्दु हसरंगा डी सिल्भाले समान २-२ विकेट लिए ।
जितसँगै समूह १ को इंग्ल्यान्ड ५ खेलमा ७ अंक जोड्दै दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ भने न्युजिल्याण्ड ७ अंक जोडेर शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको छ । इंग्ल्यान्ड विजयी भएसँगै साविक विजेता तथा आयोजक अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ ।अष्ट्रेलियाले ७ अंक जोडेपनि नेट रन रेटमा पछि पर्दा समूहको तेस्रो स्थानमा रहँदा, ४ अंक जोडेको श्रीलंका चौथों, ३ अंक जोडेको आयरल्याण्ड पाँचौं र अफगानिस्तान २ अंक जोड्दै पुछारमा रह्यो ।