नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ कार्तिक ।
अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-२० विश्वकप अन्तर्गत पहिलो सेमिफाइनलमा न्युजिल्यान्ड र पाकिस्तान भिड्दै छन् । बुधबार अष्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ मा सुरु हुनेछ ।
दुवै टोलीले सिधा सुपर १२ मा स्थान बनाएका थिए । न्युजिल्यान्ड समूह १ को शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो भने पाकिस्तान समूह २ को उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । पहिलो खेलमा आयोजक राष्ट्र अष्ट्रेलियालाई ८९ रनले पराजित गरेको न्युजिल्यान्डले दोस्रो खेलमा वर्षाका कारण खेल नभएपछि अफगानिस्तानसँग अंक बाँडेको थियो ।
त्यस्तै तेस्रो खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ६५ रनले पराजित गरेको थियो भने न्युजिल्यान्ड चौथो खेलमा इंग्ल्यान्डसँग २० रनले पराजित हुँदा समूह चरणको अन्तिम खेलमा आयरल्यान्डलाई ३५ रनले हराएको थियो । यता प्रतियोगितामा भाग्यमानी टोली सावित मानिएको पाकिस्तान भने पहिलो खेलमा भारतसँग ४ विकेटले, दोस्रो खेलमा जिम्बावेसँग एक रनले पराजित हुँदा थियो तेस्रो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेट तथा चौथो तथा महत्वपुर्ण मानिएको चौथो खेलमा दक्षिण अफ्रिकालाई डीएल मेथड अनुसार ३३ रनले पराजित गरेको हो । यस्तै समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई पाँच विकेटले हराउँदै पाकिस्तानले सेमिफाइनलमा स्थान बनाएको थियो ।
पाकिस्तानलाई पराजित गर्दै न्युजिल्यान्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा स्थान सुरक्षित गर्ने योजनाका साथ मैदान उत्रदै छ भने पाकिस्तान भने २००९ पछि पहिलो पटक फाइनल पुग्ने सुरमा रहेको छ । हेड टु हेडमा अहिसेसम्म यी दुई टिमबिच कुल २८ खेल हुँदा पाकिस्तानले १७ खेलमा जित निकाल्दा न्युजिल्यान्डले ११ खेलमा जित हासिल गरेको छ। विश्वकपको दोस्रो सेमिफाइनलमा भने भोली (बिहीबार) भारत र इंग्ल्याण्ड भिड्दै छन् । फाइनल खेल भने आगामी आइतबार हुनेछ ।