नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ कार्तिक ।
इंग्ल्यान्ड अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो ।
अष्ट्रेलियाको एडिलेडमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । भारतको लागि हार्दिक पाण्ड्या र विराट कोहलीले अर्धशतकीय पारी खेल्दै क्रमश:६३ र ५० रन बनाए । त्यस्तै कप्तान रोहित शर्मा २७ रन बनाई आउट भए भने सूर्यकुमार यादवले १४ रन जोडे । इंग्ल्यान्डका लागि क्रिस जोर्डनले ३ विकेट लिए भने आदिल रसिद र क्रिस वक्सको भागमा समान १-१ विकेट रह्यो ।
१६९ रनको लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्यान्डले १६ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डको लागि ओपनरद्वय जोस बट्लर र एलेक्स हालेसले १ सय ७० रनको कीर्तिमानी साझेदारी गरे । एलेक्स र बटलरले अर्धशतकीय पारी खेल्दै क्रमश: ८६ र ८० रनमा अविजित रहे । अब इंग्ल्यान्डले उपाधिको लागि पाकिस्तानसँग खेल्नेछ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तान उपाधि नजिक पुगेको हो । फाइनल खेल आगामी आइतबार हुनेछ ।