नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ कार्तिक ।
यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जितेको छ । शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपालले उपाधि जितेको हो ।
बंगलादेशको ढाकामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपालकी गोलकिपर तथा कप्तानी गरेका सुजता तामाङले उत्कृष्ट प्रदर्शन गर्दै एक पेनाल्टी बचाउँदै नेपाललाई च्याम्पियन बनाइन् । खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा बंगलादेशले एक गोल गर्यो ।
खेलको ५४ औं मिनेटमा रुमाले गोल गर्दै खेललाई बराबरीमा ल्याएकी थिइन् । त्यस्तै खेलको ८९ औं मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गर्यो । उक्त पेनाल्टीलाई नेपाली गोलरक्षक सुजताले बचाइन् । त्यसपछि थप समय दुवै टोलीबाट गोल भएन र खेल १-१ को बराबरीमा सकिँदै नेपालले उपाधि जित्यो । बराबरीसँगै नेपालले ४ खेलमा अपराजित रहदै १० अंक जोड्दै शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो भने ४ खेलमा ७ अंक जोडेको बंगलादेश उपविजेतामै सिमित भयो । यता अंकविहिन भुटान भने पुछारमा रह्यो ।