नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ कार्तिक ।
मंसिर ४ गते अर्थात् मतदानको दिन तपसिल अनुसारका सवारी साधन मात्र चल्न पाउने भनेर निर्वाचन आयोगले निर्णय गरेको छ ।
उल्लेखितबाहेकका सवारी साधन चलाउनुपर्ने भएमा सम्बन्धित निकायबाट सञ्चालनका लागि अनुमति लिनुपर्ने छ ।
अनुमतिपत्र लिनु नपर्ने सवारी साधनहरु :
-बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल
-खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन
-दूध बोक्ने सवारी साधन
-सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचय पत्रबाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन
-दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन
-अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन
-निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन
-तरकारी, फलफूल तथा विद्युत सेवका लागि प्रयोग हुने सवारी साधन
-कूटनीतिक नियोग, यूएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन
-विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन
-सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन
-आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन
उक्त सवारी साधनहरूले मतदाता ओसारपसार गर्ने कार्यमा प्रयोग गर्न नपाइने पनि आयोगले स्पष्ट पारेको छ ।
हवाई यात्राका सम्बन्धमा :
स्वीकृत मापदण्डबमोजिम मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूको हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा बासस्थानदेखि विमानस्थलसम्म र विमानस्थलदेखि यात्रुको बासस्थानसम्मको आवागमनको लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्नुपर्ने जनाइएको छ ।