प्रधानमन्त्री कपको उपाधि एपीएफलाई

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ । शनिबार टियू मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा एपीएफले अर्को विभागीय क्लब त्रिभुव आर्मीलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

विभागीय टोली एपीएफ क्लबले दोस्रो पटक पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । उपाधिसँगै एपीएफले १० लाख नगद हात पारेको छ भने उपविजेता बनेको आर्मीले ५ लाखमा चित्त बुझायो । यसैगरी सेमिफाइनलबाट बाहिरिएका पुलिस क्लब र मधेश प्रदेशले समान ५०-५० हजार प्राप्त गरे ।



विवादका कारण ढिला सुरु भएको खेल ४० ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ३९ ओभरमा अलआउट हुदै १७९ रन बनाएको थियो । आर्मीका लागि रोहित पौडेलले ४९ रन बनाए भने जितेन्द्र मुखियाले २४ रन जोडे । त्यस्तै राजेश पुलामीले १८ रन बनाई आउट भए भने सुशान भारीले १९ रन बनाउँदा हरि चौहान १५ र कप्तान विनोद भण्डारीले ११ रन जोडे । एपीएफका लागि अमर सिंह रौटेला र मौषम ढकालले समान ३-३ विकेट लिए भने किशोर महतोको भागमा २ विकेट रह्यो ।

१८० रनको लक्ष्य लिएर मैदान उत्रेको एपीएफले ३८.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । एपीएफको लागि भुवन कार्कीले सर्वाधिक ५५ रनको अर्धशतकीय पारि खेले भने सुमित महर्जनले ३४ रन बनाए । यस्तै प्रदीप ऐरी २० रन बनाई आउट भए भने सन्दीप जोराले १७ तथा आसिफ शेखले १४ रन जोडे । आर्मीका लागि जितेन्द्र मुखियाले २ विकेट लिए भने सोमपाल कामी, बिक्रम सोब र सुशन भारीको भागमा समान १-१ विकेट रह्यो ।

त्यसैगरी नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्र सिंह ऐरी पीएम कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चयन हुँदै ५० हजार नगद प्राप्त गरे भने उत्कृष्ट ब्याट्सम्यानको उपाधि पनि दीपेन्द्रले जित्दै २० हजार नगत प्राप्त गरे । यस्तै पुलिसकै करण केसी उत्कृष्ट बलर चयन हुँदै २० हजार नगद पाउँदा इमर्जिङ प्लेयरको अवार्ड एपीएफका मौषम ढकालले जित्दै १० हजार नगद पाए । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार