प्रचण्डले गठबन्धनको जित सुनिश्चित छ भनेपछि…

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको मुख्य एजेण्डा सुशासन, विकास र समृद्धि रहेको बताएका छन् । सोमबार लोकतान्त्रिक वाम–गठबन्धन लमजुङद्वारा राइनास नगरपालिका–४ सातविसेकमा आयोजित चुनावीसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विकास निर्माण र समृद्धिमा गठबन्धन लाग्ने बताए । ‘गठबन्धनका पक्षमा देशव्यापी लहर आएको छ, यसले गठबन्धनका अधिकांश उम्मेदवार विजयी हुने विश्वास लिएको छु’, उनले भने, ‘गठबन्धनको जित सुनिश्चित छ ।’



शान्ति प्रक्रिया टुङ्ग्याउने, जनताको अधिकारलाई बलियो बनाउने र देशलाई पछाडि धकल्ने, निरुङ्कुशतातिर र अँध्यारोतिर लैजान खोज्ने दुई गठबन्धनबीच चुनावी प्रतिस्पर्धा भइरहेको उनले बताए । मङ्सिर ४ मा हुने निर्वाचनले जनता कुन पक्षमा छन् भन्ने स्पष्ट हुने उनको भनाइ छ ।

शान्ति प्रक्रियामा नेपाली कांग्रेस र माओवादीले महत्वपूर्ण योगदान गरेको बताउँदै अध्यक्ष दाहालले भने, ‘जुन दिन गिरिजाप्रसाद कोइरालाले र आफूले हस्ताक्षर गरेर विस्तृत शान्ति सम्झौता भयो, यहीँ दिनमा मैले कांग्रेसको रुख चिह्नमा छाप लगाएको र गिरिजाले हसिया हटौँडामा छाप लगाएको हो ।’

मुलुकमा अझै पनि शान्ति प्रक्रियाका केही काम बाँकी रहेको भन्दै उनले अब बन्ने गठबन्धनको सरकारले उक्त जिम्मेवारी पूरा गर्ने उनको दाबी छ । उनले गोरखा, तनहुँ लमजुङकै वरिपरिका गठबन्धनका उम्मेदवार वरिपरि नै सरकारको नेतृत्व गर्ने सम्भावना रहेको बताउँदै गठबन्धनलाई जिताउनुपर्ने बताए ।

उनले चेपे, दोर्दी, मस्र्याङ्दी, मदिम र माडि करिडोरले लमजुङका जनताको आयस्तरमा ठूलो वृद्धि गर्ने बताए । त्यस्तै, डुम्रे बेँसीसहर हुँदै मनाङ जाने सडक र मध्यपहाडी लोकमार्ग समयमै कालोपत्र गर्न पहल गर्ने उनले आश्वासन दिए । त्यस्तै मुलकमा शान्ति, लोकतन्त्र, जनताको अधिकारमा खतरा रहेसम्म गठबन्धन कायम रहनेसमेत दाबी गरे ।

सम्बन्धित समाचार