नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ कार्तिक ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गिरिजाप्रसाद कोइराला जस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको बताएका छन् । सोमबार गोरखाको पालुङटार नगरपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पौडेलले शान्ति र क्रान्ति दुवैको नायक इतिहासमा कमै जन्मने भन्दै त्यसमध्येका एक नेता प्रचण्डले रहेको बताए । उनले भने, ‘शान्ति र क्रान्ति दुवैको नायक इतिहासमा कमै जन्मन्छन् । प्रचण्ड पनि त्यसमध्येका एक नेता हुनुहुन्छ ।’
त्यस्तै उनले कांग्रेसलगायतका गठबन्धनका दलले आवश्यकताअनुसार प्रचण्डलाई गोरखा पठाएको बताए । संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै पौडेलले अब गठबन्धनले मात्रै राष्ट्रलाई समृद्धिको दिशामा लैजाने दाबी गरे । पौडेल गठबन्धन गर्नु मुलुकको आवश्यकता रहेको बताउँदै गठबन्धनको कार्यकर्ता सबैले एक अर्का उम्मेदवारलाई मत हाल्दै जिताउनुपर्ने बताए।
‘हसियाँ हतौडासँग डराउनुपर्ने अवस्था छैन’, उनले भने, ‘रुखले हँसिया हतौडालाई भोट हाल्नुस्, हँसिया हतौडाले रुखलाई भोट हाल्नुस यहीँबाट राष्ट्रिय एकता सुरु हुन्छ ।’ उनले प्रचण्डले निर्वाचन जितेर गएपछि उनले नै देशको नेतृत्व गर्नसक्ने जिकिर गरे ।