मतदानपछि यसो भने प्रचण्ड, गगन र शंकर पोखरेलले

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने दबी गरेका छन् ।

भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधान, सुशासन र समृद्धिमाथि खतरा रहेसम्म गठबन्धन कायमै रहने जानकारी दिए ।



‘देशव्यापी रुपमा गठबन्धनको पक्षमा माहोल बनेको छ । मलाई विश्वास छ, गठबन्धनले सजिलै बहुमत ल्याउँछ । गठबन्धनकै सरकार बन्छ’, उनले भने । निर्वाचनपछि बन्ने सरकारको नेतृत्वको विषयलाई वर्तमान गठबन्धन नटुट्ने उनले विश्वास दिलाए ।

‘गठबन्धनभित्र प्रधानमन्त्रीको टुङ्गो त लगाएका छैनौँ । गठबन्धनमा सल्लाह गरेर टुङ्गो लगाउँछौँ’, उनले भने, ‘प्रधानमन्त्री पदका कारण वर्तमान गठबन्धन टुट्दैन । जबसम्म संविधानमाथि, सुशासन र समृद्धिको यात्रामा खतरा पैदा रहन्छ तबसम्म गठबन्धन रहन्छ ।’

निर्वाचनले देशमा विकास र समृद्धिको नयाँ प्रक्रिया थालनी गर्ने विश्वास व्यक्त गरेका छन् । सुशासन र समृद्धिका लागि परिवर्तनको वाहक दलको नेतृत्व भएमात्र मुलुकमा समृद्धि सम्भव हुने उनको दाबी छ । संविधान जारी भएपछिको दोस्रो निर्वाचनका रुपमा यो ऐतिहासिक महत्वको निर्वाचन भएको उनको भनाइ छ ।

‘कुन पार्टीले कति मत ल्यायो भन्नेभन्दा पनि ठूलो कूरा निर्वाचन सफलतापूर्वक सम्पन्न भयो भन्ने हो’, अध्यक्ष दाहालले भने, ‘लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण हुन्छ । निर्वाचन सम्पन्न हुनु भनेको संविधानले यसका प्रणालीले ठीक ढङ्गले काम गर्दैछ भन्ने प्रमाण हो ।’

उनले स्वच्छ, धाँधलीरहित र निष्पक्ष निर्वाचन सम्पन्न हुनु ठूलो कुरा भएको बताए । ‘संविधानलाई संस्थागत बनाउने विषयमा यस निर्वाचनको ठूलो महत्व छ’, पूर्वप्रधानमन्त्री दाहालले भने, ‘संविधानमाथि नै प्रश्न चिह्न उठाउन खोज्नेहरुका लागि यो निर्वाचनमा सहभागिता पनि आफैँमा ठूलो प्रमाण पनि हो ।’

आफू गोरखाबाट निर्वाचन लडे पनि चितवनको विकासमा आफ्नो ध्यान सदैव रहने प्रतिबद्धता व्यक्त गरे। ‘मैले चितवन छाडेको होइन, तर निर्वाचनका लागि गोरखा गएको पक्कै हो’, उनले भने, ‘चितवनसँग मेरो सम्बन्ध टुट्ने कुरा हुँदैन ।’

त्यस्तै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको बताए । काठमाडौं-४ मा कांग्रेसका उम्मेदवार थापाले मतदानपछि संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् । उनले काठमाडौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिने बताए ।

उनले संविधान निर्माणपछि दोस्रो आम निर्वाचन भइरहेको भन्दै यो सबै नेपालीका लागि खुसीको विषय भएको भन्दै मतदातामाझ गएको भन्दै मत परिणामले यो क्षेत्रको सांसद दिने मात्र नभई , संसदीय व्यवस्थाभित्र ड्राइभिङ सिटमा बसेर नेपाललाई कसले हाँक्ने भनेर निर्धारण गर्ने चरणको रुपमा लिएको धारणा व्यक्त गरे ।

‘म यहाँबाट सांसद भएर गएर भोलिपल्टबाटै संसदीय दलको निर्वाचनको तयारी थाल्छु । र संसदीय दलको निर्वाचन लड्ने हो । दलको निर्वाचन जित्ने हो । त्यसको आधारमा ड्राइभिङ सिटमा बसेर अफ्ठेरो अवस्थालाई चिरेर देशलाई हाँक्ने हो भन्ने मेरो सङ्कल्प हो’, थापाले भने, ‘त्यो सङ्कल्पका निम्ति मलाई मेरो निर्वाचन क्षेत्रका मतदाताको विश्वासले सङ्कल्प पुरा गर्ने आधार बनाएको छु ।’

यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावबाट एमाले बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित हुने बताएका छन् । आइतबार दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गरेपछि उनले यस्तो बताएका हुन् ।

उनले मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको बताएका छन् । पोखरेलले मुलुकले सही दिशा प्राप्त गर्नका लागि दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्तिको आवश्यकता पर्ने बताए । मुलुकलाई स्थायित्व, विकास र सम्बृद्धिको आवश्यक भएकाले मुलुकलाई सही दिशा दिन दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्ति पूरा गर्ने काम नेकपा एमालेले गर्ने पोखरेलको दाबी छ । उनले बलियो राष्ट्रिय शक्ति हुने सामथ्र्य एमालेसँग मात्र रहेको बताए ।

‘म धेरै नै उत्साहित छु, किनभने मुलुकलाई स्थायित्व चाहिएको छ, विकास र सम्बृद्धि चाहिएको छ । त्यस्तो अवस्थामा मुलुकले सही दिशा प्राप्त गर्नका लागि दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्तिको आवश्यकता पर्छ । त्यसमा हामी छौँ’, महासचिव पोखरेलले भने ।

 

सम्बन्धित समाचार