नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ मंसिर ।
भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा विजयी भएका छन् । नेकपा एमालेका महेश बस्नेतलाईपराजित गर्दै दुर्लभ थापा विजयी भएका हुन् ।
थापा २४ हजार २३९ मतसहित विजयी हुँदा बस्नेतले २३ हजार २८२ मत प्राप्त गरेका छन् । थापाले बस्नेतलाई ९५७ मतान्तरले हराएका हुन् । भक्तपुर–२ मा विसं २०४६ मा बहुदल पुनःस्थापनापछि कांग्रेस र नेमकिपाले पालैपालो जित्दै आएका छन् ।
विसं २०४८ मा कांग्रेसका जगनाथ आचार्य विजयी भएको यस क्षेत्रमा यसपछि क्रमश विसं २०५१ को मध्यावधि निर्वाचनमा नेमकिपाका आशाकाजी बासुकला, ०५६ को निर्वाचनमा पुन कांग्रेसका लेखनाथ न्यौपाने, ०६४ सालको निर्वाचनमा नेमकिपाका सुनील प्रजापति, २०७० सालको निर्वाचनमा कांग्रेसका रामेश्वर ढुङ्गेल र २०७४ सालमा भने एमालेका बस्नेत विजयी भएका थिए ।
कूल ९१ हजार ९११ मतदाता रहेका यस क्षेत्रमा ६५ हजार ९१९ मत खस्दा २ हजार ५३ मत बदर भएको थियो ।