नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ मंसिर ।
सरकारले मंसिर २५ गते आइतबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।
मंसिर २५ गते बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश २०७९ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने, सार्वजनिक संस्थान सुझाव समितिलाई थप प्रभावकारी र समावेशी बनाउन २ जना महिला सदस्य थप गर्ने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।
मंसिर २५ गतेको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता कार्कीले अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर मुलुकमा योगदान गर्न चाहने सबैलाई अवसर दिनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताए । ‘मुलुकलाई अहिले शान्ति चाहिएको छ, एकता चाहिएको छ, विकास र समृद्धि चाहिएको छ,’ कार्कीले भने, ‘त्यसका निमित्त सबैको योगदान रहोस भन्ने उद्देश्यका साथ यो अध्यादेश सिफारिस भएको छ ।’
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय
सार्वजनिक संस्थान सुझाव समितिलाई थप प्रभावकारी र समावेशी बनाउन २ जना महिला सदस्य थप गर्ने निर्णय
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय
सहसचिव रामआधार साहलाई नेपाल इन्जिनियरिङ सेवाको समूहीकरण क्लष्टर तर्फका राजपत्राङ्कित विशेष श्रेणीमा बढुवा गरी प्रधानमन्त्री कार्यालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय
प्रधानमन्त्री कार्यालयका नेपाल इन्जिनियरिङ सेवाको समूहीकरण क्लष्टर तर्फका सचिव सुरेश आचार्यलाई सहरी विकास मन्त्रालयको सचिव पदमा सरुवा गर्ने निर्णय
गोदक स्वयक १३२ केभी प्रशारण आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय
कालीगण्डकी कोरिडोर न्यु बुटवल बर्दघाट आयोजनाको २२० केबी प्रशारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने निर्णय