निर्वाचनको अन्तिम नतिजा घोषणा गर्दै आयोग

मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा निर्वाचन आयोगले घोषणा गर्दैछ । आज (बुधबार) दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गरेर आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो ।

आयोगले हिजै अन्तिम घोषणा गर्ने बताएको थियो तर केही प्राविधिक तयारी नपुगेका कारण घोषणा गर्ने कार्यक्रम एक दिन पछि सारिएको आयोगका समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।



निर्वाचनको अन्तिम नतिजा घोषणा भएको एक हप्ताभित्र निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । आयोगले बिहीबार निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउने तयारी गरेको पनि जनाएको छ । यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन् ।

प्रतिनिधिसभा तर्फ दलहरुले पेश गरेको समानुपातिक सूचीमा सुधार गर्नुपर्ने नदेखिएपनि प्रदेशको हकमा भने दलहरुले पेश गरेको सूचीबारे आयोगले थप निर्णय लिनुपर्ने अवस्था रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले बताए ।

प्रदेशको हकमा समानुपातिक निर्वाचनबाट निर्वाचित हुने उम्मेदवारहरुको घोषणा आगामी पुस २ गते बुझाउने तयारी गरिएको आयोगले जनाएको छ । राष्ट्रपतिले निर्वाचन परिणामको प्रतिवेदन बुझेपछि नयाँ सरकार गठन प्रक्रिया सुरू हुन्छ । समानुपतिक प्रणालीबाट प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ सातवटै प्रदेशमा गरी २२० सांसद निर्वाचित हुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ र प्रदेश सभाको प्रत्यक्षतर्फ ३ सय ३० निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ ।

आयोगले निर्वाचनको प्रतिवेदन राष्ट्रपति र प्रदेश प्रमुखहरुलाई बुझाएसँगै समानुपातिक प्रणालीवाट निर्वाचित सांसदहरुलाई आगामी पुस ४ गते प्रमाणपत्र दिने जनाएको छ ।

सम्बन्धित समाचार