नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ मंसिर ।
प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र लोसपा नेपालका अध्यक्ष ठाकुरबीच भेटवार्ता भएको हो ।
भेटमा सत्ता गठबन्धनमा सहभागिता, निर्वाचनको परिणामलगायत मुलुकको समसामयिक विषयमा विचारविमर्श भएको अध्यक्ष ठाकुरले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीजीसँग भेटघाट भएको हो, समसामयिक विषयमा कुराकानी भएको छ, निर्वाचनपछि उहाँसँग भेटघाट गरेको हुँ ।’
पार्टी गठबन्धनमै रहेकाले नयाँ सरकारमा सहभागी हुने विषयमा सकारात्मक रहेको उल्लेख गर्दै अध्यक्ष ठाकुरले राजनीतिक स्थिरता र विकासका लागि आफ्नो पार्टी निश्चित समयसम्म गठबन्धन रहनुपर्ने पक्षमा रहेको बताए । लोसपाका शीर्ष नेताहरूको बैठकले पाँचदलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुनेबारे समान धारणा बनाएको उनले जानकारी दिए ।
‘सत्तामा गए पनि नगए पनि गठबन्धन कायम होस् भन्ने हाम्रो भावना छ । सत्तामा सहभागी हुनु ठूलो कुरा होइन, राजनीतिक अस्थिरताले विकासको काममा असर पर्छ, त्यसैले स्थिरता र विकासका लागि निश्चित अवधिसम्म गठबन्धन रहनुपर्छ’ ठाकुरले भने । सत्ता गठबन्धनमा सहभागी हुनेबारे औपचारिक निर्णय गर्न लोसपाको कार्यकारिणी समितिको बैठक पुसको पहिलो साता बस्ने जनाइएको छ । लोसपाले प्रतिनिधिसभामा चार सिट जितेको छ ।