नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ मंसिर ।
कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साविक विजेता फ्रान्स र मोरक्को भिड्दै छन् । बुधबार हुने दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्न लागेका हुन् ।
कतारको अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।मोरक्कोलाई हराएर फ्रान्स दोस्रो पटक विश्वकपको फाइनल खेल्ने योजनाको साथ मैदान उत्रदैछ भने मोरक्को पनि फ्रान्सलाई हराएर विश्वकपको फाइनल पुग्ने सुरमा रहेको छ ।
फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो भने मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई पराजित गरेर अन्तिम चारको यात्रा तय गर्न सफल भएको थियो । हेड टु हेड हेर्ने हो भने यी दुई टोली हालसम्म ७ पटक भिडेका छन् । जसमा यी दुई टोलीको विश्वकपमा भने पहिलो प्रतिस्पर्धा हो ।
यसअघि सन् २००७ मा मैत्रीपूर्ण खेलमा फ्रान्स र मोरक्कोले २-२ गोलको बराबरी खेलेका थिए । यी दुई टोलीले ७ खेल खेल्दा फ्रान्सले ५ खेलमा जित हात पर्दा दुई खेल बराबरी भएको थियो । यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले पराजित गर्दै उपाधि नजिक पुगिसकेको छ ।