नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ मंसिर ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउँदै छ । आज (बिहीबार) आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्न लागेको हो ।
आयोगले समानुपातिक निर्वाचन प्रणालीको परिणाम बुधबार घोषणा गरेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको थियो । आयोगले नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान रहेकोले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेस गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।
आयोगले प्रतिवेदन बुझाएसँगै नयाँ संसद र सरकार गठनको प्रक्रिया अघि बढ्दैछ । आयोगले प्रतिवेदन राष्ट्रपतिका साथै संघीय संसद सचिवालयलाई नव निर्वाचित सांसदहरुको विवरण पठाउने व्यवस्था छ । यसैगरी आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ । आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदनअनुसार प्रतिनिधिसभातर्फ दुई सय ७५ र प्रदेशसभातर्फ पाँच सय ५० जना गरी कूल आठ सय २५ जना निर्वाचित भएका छन् ।